‘हाम्रो माया कहिल्यै छुट्दैन’ को अडियो तथा भिडियो सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार रमेश पाठकको शब्द, संगीत तथा स्वरमा तयार भएको प्रेमगीत ‘हाम्रो माया कहिल्यै छुट्दैन’ को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको चलचित्र विकास बोर्ड, चाबहिलमा आयोजित विशेष समारोहबीच गीत तथा भिडियो सार्वजनिक गरिएको हो। चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा वरिष्ठ कलाकार मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कला, संगीत, नृत्य, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक तथा डिडानका पूर्व केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, कलाकार पुजना प्रधान गुरुङ, वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल, महाकाव्यकार क्षेमनाथ दाहाल, नृत्य निर्देशक टेक लामा छिरिङ मार्फत ‘हाम्रो माया कहिल्यै छुट्दैन’ गीत तथा भिडियो सार्वजनिक भएको थियो।

त्यसैगरी कार्यक्रममा वरिष्ठ पत्रकार तथा मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसाल, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, पत्रकार गीता अधिकारी, गायिका सारिका घिमिरे, गायक तथा संगीतकार योगेश काजी शाह, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुइटेल, गायक तथा संगीतकार राजेन्द्र बजगाई, गायक तथा संगीतकार चेतन राईलगायत कला तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको पनि कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा नृत्य निर्देशक तथा डिडानका केन्द्रीय सचिव कृष्ण रसल, नृत्य निर्देशक सागर लामा, अजय कुमार बिष्ट, निरु फुयाल र यम गुरुङलगायत सहभागिता उल्लेखनीय उपस्थिति रहेको थियो।

‘हाम्रो माया कहिल्यै छुट्दैन’मा रमेश पाठक र बेनीशा पौडेलको स्वर रहेको छ। गीतमा संगीत संयोजन रामकृष्ण थापाले गरेका छन् भने अतिरिक्त संगीत उत्पादन तथा बीजीएम योगेश काजी शाहको रहेको छ। गीतको रेकर्डिङ बिनोद महताराले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्। गीत Wave Studio तथा Studio Afnoman HDमा रेकर्ड गरिएको हो।

गीतको भिडियोमा आकाश श्रेष्ठ र अलिना गुरुङको मुख्य अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन् भने छायांकन दिनेश पराजुली, मेकअप सपना लाम्साल तथा सम्पादन र कलर डिन्सन शाहले गरेका छन्। भिडियोको निर्देशन भने स्वयं रमेश पाठकले गरेका हुन्। प्रेम, समर्पण र सम्बन्धको भावनालाई केन्द्रमा राखिएको गीतको भिडियोमा आकाश श्रेष्ठ र अलिना गुरुङको जोडीलाई प्रस्तुत गरिएको छ। प्रेम सम्बन्धमा आउने विभिन्न उतारचढावका बीच पनि साँचो प्रेम कहिल्यै नछुट्ने भावलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको छ।

गीतको मूल भावले समय, परिस्थिति र समाजका विभिन्न चुनौतीबीच पनि साँचो प्रेमप्रतिको विश्वास, समर्पण र आत्मीयता कायम रहने सन्देश दिन खोजेको छ। सरल शब्द, प्रेमिल भाव र आकर्षक दृश्य प्रस्तुतिका कारण गीतले दर्शक तथा स्रोताको मन छुने अपेक्षा गरिएको छ।