- रमेश पाठक, गायक, संगीतकार
नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नै खालको परिचय बनाइसकेका स्रष्टा हुन् रमेश पाठक । सानैदेखि गीतसंगीत प्रतिको लगाव र अथक मिहेनतका कारण आज उनलाई यो सफता मिलेको हो । आफूमा अन्तर्निहित प्रतिभालाई अझ प्रष्फुटनर गराउन र उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि संगीतको प्रशिक्षण लिएर नै यो क्षेत्रमा प्रवेश गरेका पाठक डोरेमी संगीत पाठशालामा गुरुदेव कामत र भानुभक्त ढकालबाट संगीतको प्रशिक्षण लिएका थिए । २०६० सालमा आफ्नै शब्द, संगीत र स्वरमा ‘मुस्कानको अर्थ बुझ’ बोलको गीत श्रोता, दर्शकमाझ ल्याएका उनलाई पहिलो गीतले नै सफलता मिल्यो । त्यसैगरी लोकदोहोरी एल्बम ‘जाउ न गजुरी’, ‘कलिलो मुना’, ‘तिमीबिना बाँच्न सक्छु म’ लगातका कृतिहरूले उनलाई सांगीतिक क्षेत्रमा अझ उचाई दिलायो । जिनियस डिजिटल म्युजिक प्रालि स्थापना गरि गीतसंगीतको क्षेत्रमा आउन चाहनेहरूको भावना अनुरुपको सेवा दिदै आईरहेका पाठकको दशैँ मेला, तिमीबिना, म बाँचु कसरी, तिम्रै हात, हे गोरी, कानैमा झुम्का, चञ्चल गरायो, छ छैन भनिदेऊ, सातै स्वरमा, जति माया लगायत दर्जनौ लोकप्रिय सिर्जनाहरू सार्वजनिक भएका छन् । छोटो समयमा आफ्नो पहिचान बनाएका रमेश पाठकले मान सम्मान, पुरस्कार र अवार्डसमेत चुम्न सफल भएका छन् । गायन कौशलतासँगै लोकप्रियताको शिखर तर्फ लम्किरहेका गायक रमेश पाठकले ताजाखबर साप्ताहिकका लागि भएको कुराकानीः
० यतिबेला केमा ब्यस्त हुनुहुन्छ ?
आफ्नै एकल संगीत र स्वरमा नयाँ गीति संग्रहको रेकर्डिङ कार्य र बिबिध कार्यक्रममा प्रस्तुतिका साथै जिनियस म्युजिक अवार्डको तयारीमा ब्यस्त छु ।
० तपाई स्वयं कम्पनी सञ्चालकको नाताले स्रष्टा र उत्पादक बीच भैरहने बिवादको बारेमा के भन्नु हुन्छ ?
यो विषयमा दुबै पक्षको कमजोरी देख्छु । विशेषतः लेनदेन र प्रतिलिपि अधिकारको विषयमा विबाद हुने गर्छ । यो कुराहरू स्रष्टाहरूले पनि राम्रोसंग बुझेर अनि उत्पादकले पनि बुझेर बुझाएर करारनामा गरेर सहकार्य गर्दा राम्रो हुन्छ । पछि कुनै गीत, संगीत अप्रत्यासित रुपमा सफल हुँदा दुबै तर्फबाट लचकता अपनाएर आपसी समझदारी गर्दा राम्रो हुन्छ, बिवाद गरिरहनु भन्दा मेरो बिचारमा ।
० तपाईलाई कस्तो खालको गीत बढी गाउँन मनपर्छ ?
मैले प्रायः सबै किसिमको गीत गाईसकेको छु । पप, आधुनिक गीत गाउन अलि बढि मन पर्छ ।
० अडियो, सिडिको जमना गयो, आर्थिक लाभ कसरी लिई रहनु भएको छ ?
मोवाइलमा प्रयोग हुने सिआरबिटि, पिआरबिटिबाट र युट्युव लगायत बिभिन्न अडियो, भिडियो डिजिटल प्लेटफर्मबाट, बिभिन्न साँस्कृतिक कार्यक्रमबाट आर्थिक लाभ लिन सकिन्छ ।
० पहिलो लोकदोहोरी एल्बम ‘जाउ न गजुरी’ सार्वजनिक गर्दा र अहिलेको अवस्थामा संगीतको क्षेत्रमा के भिन्नता पाउनु हुन्छ ?
पहिले मैले जाउँ न गजुरी एल्बम निकाल्दा सञ्चारको पौच सबै ठाउँमा थिएन । गीत, संगीत अथवा एल्वम क्यासेटमा सार्वजनिक हुन्थ्यो । गीत सुन्नको लागि कि रेडियो टिभि कि क्यासेट प्लेयरमा नै राखेर सुन्नु पर्दथ्यो । गीत सार्वजनिक भएको रेडियो टिभिबाटमात्र थाहा हुन्थ्यो । तर अहिले कुनैपनि गीतसंगीत तुरुन्त विश्वभर सार्वजनिक गर्न सकिन्छ र सार्वजनिक हुने बित्तिकै जहाँ रहेर पनि चाहेको गीत संगीत सुन्न र हेर्न सकिन्छ । पहिले एकल गीतमात्र सार्वजनिक गर्न मिल्ने थिएन, क्योसेटमा कम्तिमा दुई वटा गीतहरू समावेश गर्नुपथ्र्यो । पहिले एल्बम सार्वजनिक गर्न कुनै कम्पनि मार्फतमात्र संभव हुन्थ्यो । अहिले एकल गीत आफ्नै तरिकाबाट सजिलै सार्वजनिक गर्न सकिन्छ ।
० गीत, संगीतको बिद्या रोज्नुको कारण ?
मलाई सानै देखि गीतसंगीतमा धेरै नै रुचि थियो । कतै जाँदा होस् या काम गर्दा होस् रेडियो सुन्ने अनि गुनगुनाउने गर्दथ्ये सोही कारण उच्च शिक्षाको सिलसिलामा काठमाडौं आएर संगीतको प्रशिक्षण लिएर अहिले यसैमा अनवरत रुपमा लागि रहेको छु ।
० दीर्घकालिन भन्दा पनि क्षणिक चर्चा चाहनेहरूको लागि के सुझाव दिन चाहनु हुन्छ ?
क्षणिक चर्चामा आउन चाहनेहरूलाई नगर्नु भन्दिन तर गीतसंगीतको दायरामा रहेर गीतसंगीत उत्पादन गर्न अनुरोध गर्दछु । गीतसंगीत र स्रष्टाहरूलाई असर हुने खालका गीतसंगीत उत्पादन नगरी दिनुहुनु अनुरोध गर्दछु ।
० तपाईको संस्थाले ‘जिनियस म्युजिक अवार्ड–२०७९’ आयोजना गर्दैछ तयारी कस्तो भैरहेको छ ?
जिनियस अवार्डको तयारी राम्रै भइरहेको छ । जिनियस म्युजिक कम्पनीको १० औं वार्षिक उत्सवमा गरिएको पहिलो जिनियस अवार्डको अत्यन्त राम्रो प्रतिकृयाले यसपाली दोश्रो अवार्ड गर्नको लागि धेरै सहज भैरहेको छ ।
० वर्तमान गीत, संगीतको अवस्थाको बारेमा के भन्नु हुन्छ ?
वर्तमान संगीत क्षेत्र विश्वभर फैलिदै गईरहेको छ । नेपालमा बिबिध कार्यक्रम लगायत होटल, रेष्टुरेण्ट, घरमा विदेशी गीतहरूको ठाउँ बिस्तारै नेपाली गीतले लिदै गइरहेको छ । अहिले टिकटकका टार्गेट गरेर गीतहरू निकाल्ने प्रबृति बढ्दै जाँदा दीर्घकालिन, सदाबाहर गीतहरू ओझेल परिरहेको छ ।
अहिले प्रबिधिले गर्दा राम्रो गला भएका स्रष्ठा भन्दा दर्शकको चाहना बुझी ठट्योली झड्कीलो ठेट नेपाली शब्दहरू प्रयोग गरी सरल हिसाबले लोक संगीतलाई समेटी निकालिएका गीतहरू बढी दर्शक श्रोताहरूले रुचाएको पाईन्छ ।